मनमोहक माइपोखरी

December 8, 2021     Paryatan Yatra

विराटनगर । धार्मिक आस्था होस् या पर्यटकीय र जैविक महत्व, सबै हिसाबले घुम्ने ठाउँ हो इलामको सन्दकपुर गाउँपालिकास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी । उच्च पहाडको टाकुरामा कसैले फुर्सदमा कुँदेजस्तो ९ कुनाको पोखरी, वरिपरि हरियाली ।

कतैबाट पनि पूरै भाग नदेखिने भएकाले आधाजसो कुना घुमेरै मात्र देखिनु यसको अर्काे विशेषता ।हिउँद या बर्खा, माइपोखरीमा पर्यटक धुरइरिन्छन् । शनिबार र मंगलबार पर्यटक अधिक आउने माइपोखरी अरूबेला पनि आगन्तुकले खाली हुँदैन । इलाम, पाँचथर, झापा, मोरङ, सुनसरीलगायत धेरै जिल्लाका पर्यटक माइपोखरीमा आउँछन् । पहाडको थुम्कामा भएकाले निकै चिसो हुने माइपोखरीमा हिउँदको चिसोमा पनि पर्यटक उस्तै रमाइरहेका हुन्छन्, गर्मीमा त माइपोखरी सबैका लागि रोजाइ नै हुन्छ ।

चैत लागेर वरपर ढकमक्क गुराँस फुलेपछि माइपोखरीले पर्यटक तान्छ । तराईमा गर्मी बढेका बेला माइपोखरीको चिसो खान आउनेको लहर लाग्छ । बाहिरी जिल्लाबाट मात्र होइन, इलामकै विभिन्न स्थानबाट माइपोखरी घुम्न आउने पर्यटक पनि बर्सेनि धेरै हुन्छन् । ‘कहिलेकाहीं त टीका लगाएर पनि भ्याउन मुस्किल पो पर्छ,’ माइपोखरी मन्दिरका पुजारी तुलाराम पौडेल भन्छन्, ‘नेपाल र भारतबाट यहाँ आउने पर्यटकको संख्या धेरै हुन्छ ।’

माइपोखरी कुनै एउटा मात्रै धर्मको केन्द्र होइन । हिन्दू, बौद्ध, किरातलगायत धर्मका धर्मावलम्बी माइपोखरीलाई उत्तिकै आस्थाको केन्द्र मान्छन् । नेपालका धेरैजसो धर्ममा आस्थावान् व्यक्ति माइपोखरीमा रमाउन पुग्छन् । इलाम सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरी पुग्न अहिले आधाभन्दा बढी सडक पक्की भइसकेको छ । इलामबाट धारापानीसम्मको सडक पक्की भएको छ ।

हिउँद लाग्ने बेला प्रायः घट्ने गरेको पोखरीको पानी वर्षामा टिलिपिल हुन्छ । पानी टनाटन भएका बेला पोखरीको सौन्दर्य निकै राम्रो देखिन्छ । ‘कहिलेकाहीं पोखरीमा पानी सुक्यो भनेर हल्ला हुन्छ,’ स्थानीय वृद्ध सूर्य सुब्बा भन्छन्, ‘तर, यहाँ कहिल्यै पानी सुक्दैन, कहिले पानी घट्छ, कहिले बढ्छ ।’ पानी धेरै घटे पूजा लगाएमा बढ्ने विश्वास केही स्थानीयलाई छ । पानी पोखरीमा धेरै घटेका बेला यसअघि पनि यहाँ स्थानीयले पूजा लगाएका थिए ।

जिल्लामात्रै होइन, देशकै प्रसिद्धस्थल माइपोखरी विश्व संरक्षण सूची ‘रामसार’मा समेत सूचीकृत छ । २ हजार १ सय २१ मिटर अग्लो डाँडाको २ हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । जैविक विविधता र पर्यटनका हिसाबले चित्ताकर्षक माइपोखरीमा गतर्षहरूभन्दा यो वर्ष धेरै संख्याका पर्यटक आइरहेको स्थानीय बताउँछन् । पुजारी पौडेल यो वर्ष पनि पोखरीमा पानी धेरै रहेकाले पोखरी आकर्षक रहेको बताउँछन् । ‘केही वर्षअघि पानी निकै घटेको थियो, भक्तजन पनि कमै आउँथे,’ उनले भने, ‘यो वर्ष धेरै मानिस आइरहेका छन् ।’ यहाँ दैनिक कति पर्यटक आउँछन् भन्ने यकिन हिसाब हुँदैन । बाक्लो कुहिरोले छाडेर आकाश छंग खुल्नेबित्तिकै माइपोखरी निकै मनमोहक देखिन्छ । हरिवोधनी एकादशी र प्रत्येक वैशाख १ मा यहाँ ठूलो धार्मिक मेला लाग्छ ।

माइपोखरी वरपर अहिले होम–स्टेसमेत राखिएका छन् । यहाँ आउने पर्यटकले फूल, आलु, मुला, अर्गानिक चिया र तरकारी खान पाउँछन् । किनेर पनि लैजान्छन् । दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले घेरिएको माइपोखरीमा आकाश उघ्रेका बेला कञ्चन पानीमा कोणधारी धुपी–सल्लाघारीको छाया देखिन्छ । प्रेमजोडीको त गन्तव्य हो नै, माइपोखरीमा नवदम्पती बिहेलगत्तै जीवनको अटुट कसम खान पुग्छन् । तीर्थ–व्रत गर्न टाढा–टाढादेखि आएका वृद्धवृद्धाको लहर लाग्छ ।

‘यो पर्यटकीय मात्र नभई धार्मिक क्षेत्र पनि भएकाले मौसमले मानिस आउ–जाउमा उत्ति असर पार्दैन,’ होम–स्टे व्यवसायी जीवन शिवा भन्छन्, ‘गर्मी मौसममा पर्यटक धेरै आउँछन्, चिसो मौसममा पनि धार्मिक पर्यटक चाहिँ धेरै नै आएका हुन्छन् ।’ पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । न्यूनतम ३ देखि अधिकतम् १७ डिग्रीसम्म सेल्सिएससम्म तापक्रम पुग्छ । दुर्लभ वन्यजन्तु पाइने माइपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन् । गलैंचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ भनिन्छ । दर्जनौं प्रजातिका सुनाखरी देखिए पनि त्यसको विशिष्ट अध्ययन भएको छैन । सुनाखरीका अध्ययनकर्ता भक्तकुमार रासकोटीका अनुसार माइपोखरी आसपासमा सयौं प्रकारका सुनाखरी हुनसक्छन् ।

अध्ययनहरूका अनुसार स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, ६ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुत्तो, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यांट्याङ पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यही विविधतामा रमाउँछन् । ३ प्रजातिका रैथाने माछा, काकाकुल, भुँडीफोर, हिमाली गिद्धजस्ता ३ सय प्रजातिका पंक्षी ओहोर–दोहोर गर्छन् माइपोखरीमा । श्रीलंका–साइबेरिया आउ–जाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद् बताउँछन् ।

विभिन्न समयमा माइपोखरीको विकासका लागि भएका अध्ययनमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् । दर्जनौं प्रजातिका चाँप, कटुस, झिँगाने, उतिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बूढोओखती पाइन्छ । चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लान्ट, शोभनीय बगैंचा देखिन्छन् यहाँ । प्रत्येकजसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अंकित गरिएको छ ।

यहाँ १९७० सालतिर स्थानीय समुदायले वृक्षरोपण गरेको वृद्धवृद्धा बताउँछन् । विभिन्न ७ धार्मिक पोखरीहरूको पानी यहाँ मिसाइएकाले माइपोखरी पुग्दा ती पोखरीको दर्शन पनि यहीं मिल्ने माइपोखरी मन्दिरका पुजारी पौडेलको भनाइ छ । २८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौं बैठकले माइपोखरीलाई विश्वसम्पदा सूचीमा राखेको हो । २ फरवरी सन् १९७१ मा उत्तरी इरानको रामसार सहरमा विभिन्न देशका प्रतिनिधिले सिमसारको संरक्षण र उपयोग हुनुपर्ने भन्दै एउटा महासन्धिमा हस्ताक्षर गरेका थिए । साभारः हाम्रोमत बाट

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.