पाथीभरामा व्ययभार थपिने गरी प्रस्ताव

March 10, 2020     Paryatan Yatra

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा क्षेत्रका कर्मचारी राजेन्द्र महत फुङलिङ नगरपालिका–९ हाङदेवाका माथिल्लो फेदीमा बस्छन् । उनको काम प्रत्येक बिहान मन्दिरमा जाने, यात्रुहरूलाई सहयोग गर्ने, पाथीभराको विकासका लागि सहयोग गर्नेको तथ्यांक राख्ने हुन्छ । यसबाहेक पाथीभराको सदस्यता लिन चाहनेलाई उपलब्ध गराउने, तीर्थयात्रीले चढाएको भेटी संकलन गर्ने, संकलित रकमको मुचुल्का तयार पारी लाहाछाप गर्न प्रहरीलाई सघाउने हो । माथिल्लो फेदीमा बस्ने रामु लिम्बूको जिम्मेवारी पनि यस्तै हो । हिंड्न नसक्ने तीर्थयात्रीलाई डोर्‍याउँदै मन्दिर पुग्न मदत गर्छन् । भीड हुँदा लाइन मिलाउने, तीर्थयात्रीले चढाएको भेटी संकलन गर्ने, तीर्थयात्रीलाई लेक लागे वा कुनै समस्या भए धर्मशालामा लगेर राखेर सहयोग गर्ने उनको काम हो ।

गत वर्ष फागुन १५ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटना हुँदा सबैभन्दा पहिला उनीसहितका तीन जना घटनास्थल पुगेका थिए ।३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदीमा प्राथमिक उपचार केन्द्र छ । अहेब उमनाथ पौडेल यहाँ बसेर जाँच र औषधि वितरण गर्छन् । बाटोमा कोही बिरामी भए तत्काल दौडनका लागि उनले प्राथमिक उपचार लेखिएको झोलामा औषधि र अरू सामान राखेका छन् ।

काफ्लेपाटीदेखि मन्दिरसम्म कोही बिरामी भए उनले तत्काल दौडनुपर्छ । पौडेलले प्रत्येक बेलुका प्रत्येकजसो होटलमा गएर कोही अस्वस्थ्य भए नभएको विषयमा जानकारी लिने गरेका छन् । उनलाई नियुक्त गर्दा नै यो सर्त गरिएको थियो ।

महत, लिम्बू, पौडेलबाहेक मन्दिरमा दुई जना पुजारी, सरसफाइ गर्ने कर्मचारी राखिएको छ । पाथीभराको सबै विवरणको तथ्यांक राख्ने, कसैलाई केही आवश्यक परे सहयोग गर्न सदरमुकाममा दुई जना कर्मचारी राखिएको छ । यसबाहेक पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र भेटिपाती व्यवस्थापन समितिका कार्यालय पनि सदरमुकाम फुङलिङमै छन् ।

पाथीभरामा संकलित प्रत्येक दिनको नोट पैसा माथिल्लो फेदीमा ल्याएर प्रहरी नियन्त्रणमा राखिन्छ । बाकसमा लगाइने तालाको चाबी प्रहरी र समितिका कर्मचारीसँग हुन्छ । यातायातको अनुकूलता हेरेर फेदीबाट भेटी रकम सदरमुकाम ल्याइन्छ । गणना गरिन्छ र बैंकमा जम्मा हुन्छ ।

यी सबै कर्मचारीले मन्दिरमा तीर्थयात्रीले चढाएको भेटीको रकमबाट मासिक तलब पाउँछन् । असोज–कात्तिक र चैत–वैशाखमा अधिक भीड हुन्छ । ज्यालादारीमा स्वयंसेवक परिचालन गरिन्छ । उनीहरूलाई दिने पारिश्रमिक पनि भेटीको रकमबाट नै हो । कति कर्मचारी राख्ने भन्ने निर्णय समितिको बैठकले गर्छ ।

नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी दैनिक ज्याला दिने समितिका पदाधिकारी बताउँछन् । पाथीभरामा नियमित १३ जना कर्मचारी छन् । क्षेत्र विकास समितिले भने २४ जना कर्मचारीको प्रस्ताव गरेको छ । संस्कृति, पर्यटन मन्त्रालयमा विचाराधीन प्रस्तावमा इन्जिनियर, निर्देशक, नायब सुब्बालगायत कर्मचारीको संख्या बढी छ । यही मन्त्रालयअन्तर्गतको समितिले यसअघि ४५ जना कर्मचारीको खाका तयार पारेको थियो ।

तर मन्त्री योगेश भट्टराईले यत्रो कर्मचारी मेरो मन्त्रालयमा त छैनन् पाथीभरामा किन चाहियो भनेपछि संख्या कटौती गरेको स्रोतले बताएको छ । पछिल्लो प्रस्ताव मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंलाई जिम्मा लगाइएको छ ।पाथीभराको संरचना निर्माणलगायतको काममा सक्रिय रहँदै आएका फुङलिङ–२ का सुरेश लिम्बू यत्रो संख्या र पद आवश्यक नभएको बताउँछन् । ‘क्षेत्र विकास समितिमा सरकारले एक जना कार्यकारी निर्देशक तोक्ने गरेको छ,’ उनले भने, ‘उनैले अरू कर्मचारी परिचालन गरे पुगिहाल्छ नि, अरू निर्देशक, महानिर्देशक किन चाहिन्छ र ?’ कुर्सीमात्रै ओगट्ने धेरै कर्मचारी आवश्यक नभएको उनी बताउँछन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले भने संरचनाहरू निर्माण गर्दा आवश्यक पर्छ भनेर इन्जिनियरको पनि दरबन्दी राखिएको तर्क गर्छन् । कर्मचारीहरूलाई कुन स्रोतबाट तलब दिने भन्ने टुंगो छैन । प्रस्ताव पारित गरे मन्त्रालयले नै तलब दिने काफ्लेको बुझाइ छ । अहिले तयार गरिएको दरबन्दीअनुसार मासिक आठ लाखको हाराहारीमा तलबमा मात्रै खर्च हुन्छ । कर्मचारी नियमावलीअनुसार उनीहरूलाई भत्तासमेत दिनुपर्दा योभन्दा बढी पनि हुने काफ्ले बताउँछन् । हाल १३ जनाका लागि मासिक खर्च २ लाख ५० हजार हुन्छ । यही अवस्थामा प्रस्ताव स्वीकृत भए वार्षिक एक करोड रुपैयाँ सरकारको व्ययभार थपिनेछ । दान र भेटीले व्यवस्थापन भइरहेको मन्दिरका लागि राज्यले थप व्ययभार व्यहोर्नुपर्छ ।

तीन हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरमा वार्षिक करिब ३ लाख तीर्थयात्री पुग्छन् । उनीहरूले चढाउने भेटी डेढ करोडको हाराहारीमा हुन्छ । यसले कर्मचारीको खर्च बेहोरेर यहाँको पैदलमार्ग, खानेपानी, मोटरबाटोमा सोलिङ, धर्मशाला निर्माणजस्ता काम भइरहेको संरक्षण समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । साभार: कान्तिपुर दैनिक

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.